न्यु मिडिया र आचारसंहिताबारे ‘सम्पादक सम्वाद’

न्यु मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

जनसम्मत
श्रावण २२, २०८०, सोमबार

प्रेस काउन्सिल नेपालमा न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ गरिएको छ।

प्रेस काउन्सिल नेपाले आज (सोमबार) भक्तपुरमा न्यु मिडिया र आचारसंहिताको चुनौति विषयमा ‘सम्पादक सम्वाद’ गरेको हो।

कार्यक्रमअन्तर्गत भोली (मंगलबार) ‘सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन’ विषयमा छलफल हुनेछ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छिन्।

मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भएपनि यसैबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्।

‘न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो। त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला’ मन्त्री शर्माले बताइन्, ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला, त्यसतर्फ सोचौँ।’

मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताइन्। ‘एउटा पत्रकारले बदमासी गर्‍यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी गर्‍यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी गर्‍यो कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ। हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ। नकारात्मक मात्रै छ कि जस्तो भयो। समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ’, शर्माले प्रष्ट पारिन्।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले संचार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समेत समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताए।

‘हामीले के गरिरहेका छौँ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्नेजस्ता विषयमा पनि प्रष्ट सुझाव आओस्’, उनले जोड दिए।

काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले कार्यक्रममा ‘न्यु मिडिया र आचारसंहिताको पालनाका चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरे।

काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यु मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताए।

उनले न्यु मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गरे।

‘अब पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न संभव छैन। सहजीकरण गरिदिने हो। स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्छ’ दाहालले प्रष्ट पारे।

पत्रकारलाई नै जिम्मेवारीको विकेन्द्रीकरण गराउन उपयुक्त हुने र काउन्सिलका अबका काम त्यसतर्फ उन्मुख हुनुपर्ने उनको सुझाव थियो।

दाहालको कार्यपत्रमाथि टिप्पणी गदै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताए।

उनले पत्रकारितामा राजनीति हाबी हुँदा विकृति बढेको भन्दै पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको भूमिका फराकिलो बनाउनुपर्ने उल्लेख गरे।

यस्तै, वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू समेत नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनर्परिभाषित गर्न आवश्यक रहेकोमा जोड दिइन्।

उनले मिडियाका यस्ता सवालमा गरिएको ‘सम्पादक संवाद’ प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिइन्।

कार्यक्रममा बोल्दै अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताए। उनले न्यु मिडियालाई मार्गदर्शन गरी स्वनियमनका लागि प्रेरित र सहयोग गर्न जरुरी रहेको औँल्याए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वअध्यक्ष शिव गाउँले र डा. महेन्द्र बिष्ट, सम्पादकहरू तीर्थ कोइराला, प्रतीक प्रधान, अमित ढकाल, दिलभुषण पाठक, टिकाराम यात्री, सागर पण्डित, सरिता श्री ज्ञवाली, देविका घर्तीमगरलगायतले आफ्ना धारणा राखे।