प्रेस रजिष्ट्रारको कार्यालयमा पत्रकार महासंघको धर्ना

श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि प्रेस रजिष्ट्रारलाई महासंघले ध्यानाकर्षणपत्र बुझायो

जनसम्मत
श्रावण १९, २०८०, शुक्रबार

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिएको छ।

साथै, महासंघले प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र समेत बुझाएको छ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको प्रष्ट पारे।

उनले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुँदाहुँदै पनि राज्यका निकायहरुले नसुन्ने प्रवृत्ति बढ्दै गएका कारण सडकमा धर्ना तथा सामुहिक दबाबसहित आफ्नो आवाजलाई सरोकारवालासम्म पुर्‍याउन बाध्य भएको उल्लेख गरे।

उनले पत्रकारिता क्षेत्र श्रमशोषित क्षेत्र हो कि भन्ने गलत भाष्य स्थापित हुन लागेको भन्दै यसले नयाँ पुस्तालाई यस क्षेत्रमा आउन निरुत्साहन गरेको बताए।

उनले पत्रकारिता क्षेत्रलाई थप गुणस्तर बनाउन र श्रम शोषण मुक्त क्षेत्र बनाउनका लागि समेत आन्दोलन गर्न बाध्य भएको जिकिर गरे।

सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस रजिष्ट्रार शंकर नेपालले आफूले पाएको अधिकार क्षेत्रभित्र रहेर वर्ता, मेलमिलाप र मध्यस्तताका आधारमा पीडितलाई न्याय निरुपण गर्दै आएको बताए।

उनले यी प्रकृयाबाट समस्या हल नभए प्रचलित कानुनअनुसार अघि बढ्न आग्रह गरेको बताए। उनले प्रेस रजिष्ट्रारको तोकिएको भूमिका विभागले निर्वाह गर्दै आएको खुलाए।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपाली पत्रकारिता क्षेत्र श्रम अधिकार प्राप्तिको लडाँइमा रहेको स्पष्ट पारे।

उनले भने ‘कोभिडपछि श्रम समस्या निक्कै पेचिलो बन्दै आएको छ। पत्रकारलाई सेवाबाट निकाल्ने, कानुनअनुसारका कुनैपनि सेवा सुविधा नदिने, काम गर्ने वातावरण नदिने, हतोत्साहित गर्ने र पत्रकारिता जस्तो प्राज्ञिक पेशामा अत्यन्तै गैरव्यवसायिक आचारण प्रकट भएको हुनाले, खासगरी संचारगृह र कर्पोरेट भनिएका संचारगृहबाट यस्तो खालको व्यवहार भएकाले महासंघले निरन्तर दबाब दिने, संवाद गर्ने, कानुनी लडाइँ लड्दासमेत उचित समाधान निस्किन सकेन। ’

उनले पत्रकारिता क्षेत्रमा देखिएको पेशागत असुरक्षाको वातावरण दिनानुदिन बढ्दै गहिरहेका कारण संचारगृहमा पनि यस्तै खाले धर्ना दिने बताए।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्नसमेत समस्या झेल्नुपरेको भन्दै यस्ता समस्या अन्त्य गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

सोहीअनुसार आज प्रेस रजिष्ट्रारको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएको हो। कार्यक्रममा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यसहित सरोकारवालाको उपस्थिति थियो।