विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा मिश्रको नेतृत्व

जनसम्मत
फागुन २१, २०७८, शनिबार

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व महादेव मिश्रले सम्हालेका छन्।

प्रतिष्ठानको शनिबार पोखराको सहिदपार्कस्थित घनश्याम ढकाल स्मृति कक्ष सभाहलमा सम्पन्न छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन्।

त्यस्तै, सदस्यहरुमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि पौडेल, सुरज उपाध्याय र शालिकराम देवकोटा छन्।

निवर्तमान अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो। प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मी र संरक्षक विश्वप्रकाश लामिछाने अध्यक्ष मण्डलमा थिए।
कार्यक्रममा बोल्दै सल्लाहकार रामराज रेग्मीले सहिद विजय ढकाल नेपाली क्रान्ति र परिवर्तनसँग जोडिएको नाम रहेको उल्लेख गरे। उनले विजय ढकाल एक सच्चा क्रान्तिकारी भएको औल्याए।
सहिदहरुको बलिदानीबाट बनेको राजनीतिक पार्टीका नेतृत्व तहबाट सहिद, बेपत्ता, घाइते, अपाङ्गहरुको बलिदानीलाई अबमुल्यन भएको उनको भनाई थियो।

उनले भने, ‘देशको आमूल परिवर्तन तथा राष्ट्रिय स्वाधीनताका पक्षमा र साम्राज्यवाद तथा विस्तारवाद नीतिका विरोधमा क्रान्ति हुन्छ। क्रान्ति मर्दैन। मर्न दिनु पनि हुँदैन। क्रान्ति एकले नगरे अर्कोले गर्छ।’

प्रतिष्ठानका संरक्षक विश्वप्रकाश लामिछानेले सहिदको सपना र भावनालाई समातेर हिँड्नुपर्नेमा जोड दिए। सहिदहरुको सपना र भावनालाई समाजका स्थापित गराउन आग्रह गरे।

‘विजय ढकाल समाजका लागि एक सच्चा क्रान्तिकारी थिए। समाजमा क्रान्ति, प्रतिक्रान्तिकारी चलिरहन्छ। हाल, क्रान्ति होइन, प्रतिक्रान्ति चलेको छ।क्रान्ति उत्कर्षमा पुग्दा उन्मादमा र क्रान्ति ओझेलमा पर्दा निराशामा बन्ने त्यो व्यक्ति क्रान्तिकारी हुन सक्दैन,’ लामिछानेको भनाई थियो।

निवर्तमान राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी सदस्य कल्पना चिलुवालले स्वागत मन्तव्य, महासचिव भीम रानाभाटले प्रगति प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहिद विजय ढकाललाई संपूर्ण सहिदहरुको प्रतिनिधि पात्र मानेर सहिदको सम्मान एवं उनीहरुको त्याग र बलिदानलाई समाजमा स्थापित गराउने उद्देश्यले २०६३ मा प्रतिष्ठानको स्थापना गरिएको हो।

प्रतिष्ठानले पोखराको सहिदचोकस्थित सहिद पार्क, सहिद पार्कमा सहिदहरुको स्तम्भ र वेपत्ताहरुको स्मृतिमा प्रतीक्षालय निर्माण गरेको छ। प्रतिष्ठानले स्याङ्जाको सतौंमा समेत सहिदपार्क निर्माण गरेको छ।