पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु

मेलाले १२ सय भन्दा बढिलाई उद्यशीलता र रोजगारमा जोड्दैछ

जनसम्मत
वैशाख १०, २०८१, सोमबार

पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ।

आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो।

मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ।

गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापाले मेलाको उद्घाटन गरेकी हुन्।

उपसभामुख थापाले कक्षा १२ उत्तीर्ण भएपछि नेपालमा भविष्य छैन भन्दै विदेश जाने परम्परालाई रोक्नुपर्ने कुरामा जोड दिइन्।

‘बढ्दो युवा जनशक्ति पलायनलाई रोक्नपनि यस्ता रोजगार मेलाहरुको भुमिका महत्वपुर्ण हुन्छ’, थापाको भनाई छ।

१२ गतेसम्म पोखरा सभागृहमा संचालन हुने मेलामा निःशुल्क प्राविधिक शिक्षा समेत प्रदान गरिदै छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दोस्रो वृत्ति परामर्श मेलाले १२ सय भन्दा बढिलाई उद्यशीलता तथा रोजगारमा सहभागी गराउनेछ।

मेयर आचार्यले महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रले मेलाबाहेक पनि स्टार्ट–अप व्यवसायका लागि सुलभ ऋण तथा विजनेस आईडिया आदान–प्रदान गर्दै आएको जानकारी दिएका छन्।

रोजगार मेलामा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले निजी क्षेत्रसँग सरकारले अनुकुल ढंगले सहकार्य गर्ने हो भने कोही पनि बेरोजगार बन्नुनपर्ने बताएका छन्।

उनले सरकारलाई सबैभन्दा धेरै कर निजी क्षेत्रले तिर्ने भएपनि व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउँदासमेमत सरकारले व्यवसायीको हितका लागि काम गर्न नसकेको बताए।

उनले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण सिर्जना गर्न आग्रह समेत गरेका छन्।

मेलामा विद्यालय तहको अध्ययन पश्चात के पढ्ने र के सिक्ने भनेर अल्मलिएकाहरुलाई पनि मार्ग प्रदान गर्ने जनाइएको छ।

मेलामा रोजगार र उद्यमशीलतासँग सम्बन्धित विविध प्रकृतिका स्टलहरु रहेको मेला मूल आयोजक समितिका संयोजक अम्बिका प्रसाद आचार्यले बताएका छन्।

मेलामा सीप परीक्षणबारे जानकारी, सीपमूलक तालिमका अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवाहरु, टक-शो, सफल उद्यमीको कथा तथा विविध साँस्कृतिक कार्यक्रमहरु संचालन भइरहेका छन्।