एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल चौथो

नेपाल हङकङसँग ४ विकेटले पराजित

जनसम्मत
वैशाख ८, २०८१, शनिबार

एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ।

नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा भेटायो।

हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए।

सोही क्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो।

योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ।

हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्।

भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन्।