गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो

बुढि गण्डकीमा पानीको सतह बढ्यो, काठे पुल बगायो

जनसम्मत
वैशाख ९, २०८१, आइतबार

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ।

वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ।

सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ।

बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ।

सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदैछ।

बाढीले थप क्षति पुग्न सक्ने भन्दै बुढीगण्डकी नदी आसपासका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन्।

यसअघि, हिमताल फुटेको भनिएपनि हिमपहिरोले तालको पानी छचल्किएर बगेको थाहा भएको छ।

गोरखा जिल्ला प्रशासनले पनि जरुरी सूचना जारी गर्दै नदिमा पानीको बहाव २४ घण्टासम्म रहन सक्ने बुढिगण्डकी किनाराका स्थानीय तथा सरोकारवालाहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।