लामाचौर कप भलिबल : महिलातर्फ पुलिसलाई उपाधि

फाइनल खेलमा पुलिसले न्यू डायमण्डमाथि ३–१ को जित निकाल्दै उपाधि जित्यो

जनसम्मत
असाेज १, २०८०, सोमबार

पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ।

सामुदायिक विकास समाजको आयोजनामा सोमबार सम्पन्न फाइनलमा न्यू डायमण्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।

प्रतियोगितामा नेपाल पुलिसको महिला टिमका लागि यो लगातार दोश्रो उपाधि समेत् हो।

पुलिसले उपाधिसँगै नगद १ लाख ५१ हजार १ सय ११ का साथमा ट्रफी हात पार्‍यो।

त्यसैगरी, उपविजेता बनेको न्यू डायमण्डले नगद १ लाख १ हजार १ सय ११ का साथमा ट्रफी हात पार्न सफल भयो।

निकै प्रतिस्पर्धात्मक फाइनलमा पहिलो सेट न्यू डायमण्डले २५–१८ ले जित्दै पुलिसलाई दबावमा राख्ने प्रयास गरेपनि अन्तिम ३ सेट पुलिसले डायमण्डमाथि २५—२२, २५—१४ र २५—२० ले जित निकाल्यो।

सोमबार नै भएको लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई पराजित गरेको थियो।

४ टिम मात्र सहभागी प्रतियोगितामा पुलिसले आफ्नो राउण्ड रोविनमा समेत अपराजित यात्रा कायमै राख्न सफल बन्यो।

पुलिसको कूल ३ खेलबाट कूल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो।

उता, डायमण्डले ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुलिससँग फाइनलमा भेट पक्का गरेको थियो।

एपीएफको ४ तथा एभरेष्ट भलिबल क्लब अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो।

प्रतियोगितामा ४ अंक बटुलेको एपीएफ तेश्रो हुँदै नगद ५० हजार १११ मा चित्त बुझायो।

प्रतियोगितामा नेपाल पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ हात पार्न सफल बनिन्।

त्यस्तै, प्रतियोगितामा वेष्ट सेटर नेपाल पुलिसकी कमला पुन, वेष्ट सर्भर न्यू डायमण्डकी जेसिका वि.क., वेष्ट डिफेण्डर पुलिसकी शान्तीकला

राई, वेष्ट ब्लकर न्यू डायमण्डकी सुमित्रा रेग्मी, वेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर र वेष्ट कोच नेपाल पुलिसका रितेश विष्ट रहे।

पुरुषतर्फको फाइनल खेल भोली

पुरुषतर्फ गण्डकी र पुलिसको खेल भने लाइट प्रोटेस्ट (प्रकाशको कमी) का कारण स्थगित बन्यो।

खेलको दोस्रो सेट सकिएलगत्तै खेल स्थगित गरिएको थियो।

पहिलो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो।

दुवै टोलीले १/१ सेट जितेपनि प्रकाश नपुग्ने भएपछि खेल रोकिएको रेफ्री संयोजक टहलसिंह थापाले जानकारी दिएका छन्।

पहिलो सेटमा पुलिसले गण्डकीलाई २५–१५ ले हरायो।

दोस्रो सेटमा २५–२३ ले हराएपनि तेस्रो सेटमा गण्डकी खेलमा फर्किएको थियो।

तेस्रो सेट गण्डकीले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो।

चौथो सेट २५–१८ ले जित्दै बराबरी सेटमा खेल अघि बढयो अन्तिम सेटमा गण्डकी हाबी हुँदै १५–१० ले जित हासिल गरेको थियो।

प्रतियोगितामा एपीएफको कूल ४ खेलबाट २ जित २ हारसहित ७ अंक रह्यो।

मणिमुकुन्दको ४ खेलबाट २ जित र २ हारसहित ५ अंक रह्यो।

गलकोट स्पोर्टस क्लबको ४ खेलबाट ४ हारसहित अंकविहिन बन्दै प्रतियोगिताबाट बाहिरियो।