पत्रकार मीना थापामगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पुरस्कार राशि नगद १५ हजार रुपैयाँ छ

जनसम्मत
असार २६, २०८३, शुक्रबार

पत्रकार मीना थापामगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३’ बाट पुरस्कृत भएकी छन्।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले पत्रकार थापामगरलाई यस वर्षको सो पुरस्कार प्रदान गरेको हो।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले पत्रकार थापामगरलाई सम्मानपत्र र घलेकीलेसहित पुरस्कार राशि नगद १५ हजार रुपैयाँ प्रदान गरे।

फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पत्रकार थापामगरलाई यस वर्षको  पत्रकारिता पुरस्कारका लागि सिफारिस गरेको थियो।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ।

पुरस्कृत पत्रकार थापामगरले सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा योगदान गर्न अझै हौसला मिलेको बताइन्।

कार्यक्रममा मन्त्री शेरचन, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैकामगर, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन रानामगरलगायतले बोल्दै मिडिया क्षेत्रमा आदिवासी जनजाति महिला पत्रकारहरुको उल्लेख्य सहभागितामा जोड दिए।

आदिवासी जनजाती पत्रकारहरुले आफ्नो समुदायको भाषा, संस्कृति, संस्कारलगायतका विषयमा कलम चलाएर योगदान दिन आवश्यक भएको वक्ताहरुले ओंल्याए।

सम्मानित व्यक्तित्व पत्रकारिताको क्षेत्रमा लागेर आफ्नो संस्कार र संस्कृतिको विषयमा शब्दमार्फत् योगदान दिन पाउनु आफ्नो सौभाग्य रहेको उनको भनाइ थियो । आगामी दिनमा यही क्षेत्रलाई निरन्तरता दिएर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका संचालक वीरेन रानामगरलगायतले कौराहा संरक्षणका लागि पुरस्कारले मगरको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए।

आमागी दिनमा पुरस्कारलाई अझ परिस्कृत रुपमा निरन्तरता दिदैं जाने राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगरले बताइन्।

यसअघि, यो पुरस्कारबाट कमला रानामगर, तिलक पुन, प्रताप रानामगर, खेम सारुमगर, एमबी आस्थामगर, मनोज घर्तीमगर, रुद्र श्रीषमगर र शारदा झेडीमगर सम्मानीत भइसकेका छन्।