पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान

पुरस्कार राशि १५ हजार ८८ रुपैयाँ छ

जनसम्मत
असार २०, २०८३, शनिबार

पोखरामा क्रियाशील पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार-२०८३’ प्रदान गरिएको छ।

लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक समारोहमा कोइरालालाई गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, संघकी अध्यक्ष जानुका पराजुली र प्रतिभा छनोट समितिका संयोजक बाबुराम गिरीले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।

पुरस्कार राशि १५ हजार ८८ रुपैयाँ छ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य सूर्यमणि लामिछानेद्वारा यस पुरस्कारको स्थापना गरेका हुन्।

हाल, पत्रकार कोइराला समाधान दैनिकका सम्पादक छन्।

२०५९ देखि पत्रकारितामा संलग्न कोइराला प्राध्यापन र पत्रकारितामा संलग्न छन।

उनले लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा आमसञ्चार र पत्रकारिता विषय पढाउँछन्।

साथै, उनले भद्रकाली माध्यमिक विद्यालय र पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आमसंचार र सामाजिक अध्ययन शिक्षण गर्छन्।

पुरस्कार ग्रहण गरेपछि कोइरालाले निजी क्षेत्र सबल रहेमात्र मिडिया क्षेत्रपनि सबल हुने धारणा राखे।

‘अहिले सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को महामारीका बेला सही सूचना र समाचार ओझेलमा परेका छन्। यसका लागि आम नागरिकमा मिडिया साक्षरता हुनु जरुरी छ’ उनले भने।

सरल जीवनका अनेक मार्ग हुँदाहुँदै पनि समाज हितका लागि आफूले पत्रकारिताको कठिन बाटो रोजेको उनले बताए।

यसअघि, आदर्श समाजका प्रधान सम्पादक कृष्णप्रसाद वास्तोला र आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेलसमेत यो पुरस्कारबाट सम्मानीत भइसकेका छन्।