पत्रकारहरु रुद्रबहादुर र इन्दिरालाई कर्म-कर्ण पत्रकारिता पुरस्कार

पुरस्कार राशि १० हजार रुपैया छ

जनसम्मत
असार २९, २०८३, सोमबार

पोखरामा कृयाशील पत्रकारहरु रुद्रबहादुर थापा (हितान) मगर र इन्दिरा गुरुङलाई कर्म-कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत रुद्रबहादुरलाई बर्ष-२०८२ को र इन्दिरालाई बर्ष-२०८३ को सो पुरस्कार प्रदान गरिएको हो ।

४ दशक बढी पत्रकारितामा संलग्न रुद्रबहादुर र भाषागत पत्रकारितामा संलग्न इन्दिरालाई सो पुरस्कार प्रदान गरेको हो।

तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको उक्त पुरस्कार पत्रकारिता क्षेत्रमा संलग्न आदिबासी जनजाती पत्रकारलाई हरेक बर्ष प्रदान गरिँदै आएको छ।

पुरस्कार राशि १५ हजार रुपैया र सम्मानपत्र छ।

(फोनिज) कास्कीकी अध्यक्ष बिनाकुमारी थापा, पुरस्कार संस्थापिका कर्म गुरुङ र गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारीले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १५ हजार रुपैयाँ नगद प्रदान गरेर उनीहरुलाई सम्मान गरे।

नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले (हितान) मगर र गुरुङलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

पुरस्कार छनोट समितिको अन्य सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ र फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर थिए।

प्रेस रजिस्ट्रार भण्डारीले कार्यक्रममा बोल्दै पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारिता गर्न प्रेरित गर्ने बताइन्।

तमु धिं नेपालका संस्थापक अध्यक्ष एबं पुरस्कार संस्थापिका कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियालिरहेको बताइन्।

यो सम्मानले आदिवासी जनजातिका आवाजलाई बुलन्द बनाउन थप जिम्मेवार बनाउने गुरुङको विश्वास छ।

तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले समावेशी पत्रकारिता आजको आवश्यकता रहेको औंल्याए।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिका बिषयलाई समाजमा उजागर गर्दै लैजानुपर्नेमा जोड दिए।

पत्रकार (हितान) मगरले बोल्दै यो सम्मानबाट अझै पत्रकारिता गर्ने जोश आएको बताए।

त्यस्तै, अर्की सम्मानीत पत्रकार गुरुङले भाषा पत्रकारितालाई जिवन्त राख्न सधै अग्रसर रहने बताइन्।

यसअघि, कर्म-कर्ण पत्रकारिता पुरस्कारबाट रिता गुरुङ, तिलक पुन, हर्क आलेमगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबी आस्थामगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीषमगर, दिपेन्द्र श्रेष्ठ र खेम सारुमगर सम्मानीत भैसकेका छन्।

फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव देविका तामाङले संचालन गरेकी थिइन्।