गण्डकीलाई लामाचौर कप भलिबलको उपाधि

नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो

जनसम्मत
असाेज २, २०८०, मंगलवार

घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ।

मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पार्‍यो।

गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए।

लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो।

गण्डकी २५–१९ ले जितेर बराबरी खेल्यो।

तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा पार्‍यो।

उसले २५–२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो।

चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३–२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८–२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने सहजै १५–११ मा कब्जा जमायो।

उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने।

पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए।

पुरुषतर्फ उपविजेतामा सीमित भएपनि नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो।

फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो।

लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ।

उपविजेताले १ लाख पायो।

गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए।

गत वर्षदेखि पुरुषतर्फ स्पर्धा थप भएको हो । आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले लामाचौर महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे।