स्याङ्जाका मिनप्रसाद कोइराला राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानीत हुँदै

जनसम्मत
असाेज ६, २०८०, शनिबार

कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइराला विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुँदैछन्।

काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जीनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन्।

कोइरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा ११ र १२ का विद्यार्थीले पढ्ने भवन, वातावरणमैत्री शौचालयको भवन, प्राध्यापक तथा पुस्तकालय भवनको निर्माण र विद्यार्थीमैत्री फर्निचरको व्यवस्थापन गर्दै विद्यालयको भौतिक व्यवस्थापनमा रचनात्मक भूमिका खेलेका थिए।

उनले शिक्षातर्फ २०६६ सालबाटै विद्यालयका हरेक तहमा इञ्चार्जको व्यस्थापन गर्दै कक्षा नर्सरीमा अडियो भिजुअलद्वारा सिकाई र विद्यालयमै कम्प्युटर ल्याबको व्यवस्था, ईन्टरनेटको प्रयोगमार्फत सिकाई विकासमा प्रभावकारी भूमिका खेलेका थिए।

कोइरालाले व्यवस्थापन समितिको दोश्रो इनिङमा विद्यालय परिसरभित्रै दिवा खाजा र चमेनागृह तथा स्टेशनरीको व्यवस्थापनका साथै भवनका जीर्ण झ्यालढोका मर्मत संभार र झन्डै ५० सेट नयाँ डेस्क बेन्चको व्यवस्थापन गरेका थिए।

उनले विद्यालयमा अध्यानरत विद्यार्थी र शिक्षकलाई १ हजार भन्दा धेरै रैथाने बाह्रमासे सुनकागतीको विरुवा र २ हजार डाले घाँसको विरुवा निशुल्क उपलब्ध गराएका थिए।