पत्रकार ’बिनु’ र ’तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार प्रदान

जनसम्मत
असाेज १२, २०८०, शुक्रबार

पोखरामा रहेर लामो समयदेखि पत्रकारीता गर्दै आएका बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ।

गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको पुरस्कारबाट उनीहरुलाई आज (शुक्रबार) एक कार्यक्रमबीच सम्मान गरिएको हो।

गण्डकी प्रदेशकी उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती तिवारी अर्यालले उनीहरुलाई सम्मानपत्र, दोसल्लासहित जनही नगद २० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिन्।

पुण्य पौडेल नेतृत्वको पुरस्कार छनोट समितिले मिना सिर्जनशील समावेशी पुरस्कार २०७९ बाट बिनु र २०८० बाट तारालाई छनोट गरेको थियो।

पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन्।

२०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन्।

हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन्।

यस्तै, पत्रकार तारा पौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन्। उनी हाल सिटीपोखरा डट कमको संचालक/सम्पादक भएर काम गरिरहेकी छिन्।

यसअघि, उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विग एफ एम, रेडियो आकाशवाणी, ई–सांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन्।