पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान

जनसम्मत
पौष ४, २०८०, बुधबार

पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ।

पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्।

पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोलालाई सम्मान गरिएको हो।

उनीहरुलाई नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनही १ लाख ११ हजार १ सय ११ र ताम्रपत्रसहित सम्मान गरे।

पूर्व सांसद, पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्य–प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी हरेक वर्ष अग्रज पत्रकारलाई सम्मान गरिंदै आएको हो।

२०७३ सालदेखि वितरण गर्न सुरु गरिएको उक्त सम्मान कोरोनाका कारण ३ वर्षदेखि रोकिएकोमा यसपाली क्रमश: वर्ष २०७७ का लागि डा. आचार्य, वर्ष २०७८ का लागि शर्मा र वर्ष २०७९ का लागि बाँस्तोलालाई प्रदान गरिएको हो।

यसअघि, युवराज घिमिरे, बद्रीविनोद प्रतीक, किशोर नेपाल र नारायण कार्की सो सम्मानबाट सम्मानित भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्र रक्षाको लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।