अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

यसअघि, संचार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री संप्रेषण गरेको भन्दै यही मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो

जनसम्मत
मंसिर १७, २०८०, आइतबार

प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नभई अफवाहपूर्ण सामग्री संप्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री संप्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट संप्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मिडियाअन्तर्गत संचालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि, संचार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री संप्रेषण गरेको भन्दै यही मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट संप्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मंसिर पहिलो साता केही सामाजिक सञ्जालबाट संप्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री संप्रेषण नगर्न र नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।

राससमा समाचार छ।