प्रधान सेनापति कप राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश सेमिफाइनल पुग्यो

गण्डकी प्रदेशसँगै तीन विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ प्रतियोगिताको सेमिफाइनल पुग्यो

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ ।

गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ । गण्डकीले अघिल्ला ३ खेलमा लगातार जित निकालेको थियो । गण्डकीले सेमिफाइनलमा आर्मीसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

गण्डकीले समूह ‘ख’ बाट अन्तिम खेल पुलिससँग खेलेको थियो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार भएको खेलमा गण्डकी प्रदेश विभागीय पुलिससँग २१–२५, १५–२५ र १६–२५ को सोझो सेटमा हारेको थियो ।

यसअघि, गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–११, २६–२८, २५–१६ र २५–२० ले पराजित हराएको थियो । त्यसैगरी, गण्डकीले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई कर्णालीलाई २५–२१, २७–२५ र २५–१४ को सेटमा पराजित गरेको थियो ।

विभागीय टिम नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानसेनापतिे सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल खेल्न बाँकी विभागीय पुलिस पनि समुह ‘ख’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तीन खेल खेलेको पुलिसले सबै खेल जित्दै ९ अंक बटुल्दै सेमिफाइनल पुगेको हो ।

यस समूहमा एक खेल खेल्न बाँकी रहेको प्रदेश ३ को ३ अंक रहेको छ । यस्तै प्रदेश ५ को पनि ३ अंक रहेको छ । एक खेल खेल्न बांकी कर्णालीले जित निकाल्न सकेको छैन ।

समूह ‘क’ मा सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार नै भएको खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । रोमाञ्चक उक्त खेलमा एपीएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० को सेटमा पराजित गरेको थियो ।

जितसंगै समूह ‘क’बाट एपीएफले ३ खेलबाट ९ अंक जोड्यो । एक खेल अगाबै एपीएफले सेमिफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । आर्मीले सुरुवाती ३ खेलमा लगातार जित निकालेको थियो ।
अब अन्तिम खेलमा एपीएफले प्रदेश १ सँग खेल्नेछ । उक्त खेलमा एपीएफलाई प्रदेश १ ले सोझो सेटमा पराजित गरेपनि आर्मी र एपीएफ सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबार समूह ‘क’ को प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको थियो । प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ को सेटमा पराजित गरेको थियो ।

जितसँगै समूह ‘क’को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ । सुदूरपश्चिमले ३ खेलमा जित निकाल्न सकेको छैन । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यस्तै, समूह ‘ख’ को प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई ३–२ को सेटमा पराजित गरेको छ । प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जित निकालेको हो । प्रदेश ५ को यो पहिलो जित हो । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । प्रदेश ३ को पनि ३ खेलबाट ३ अंक रहेको छ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफसहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालित उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक पाउनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।