गठबन्धन राष्ट्रिय सभा सदस्यका उमेद्वारहरु गोरखामा

जनसम्मत
माघ ३, २०८०, बुधबार

गठबन्धनबाट गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उमेद्वारहरु मतदाताहरुसँग भोट माग्न गोरखा सदरमुकाम गोरखा बजार पुगेका छन्।

यही माघ ११ गते हुने राष्ट्रिय सभाका सदस्य पदको निर्वाचनका लागि सत्ता गठबन्धनका उमेद्वारहरु आफ्ना मतदातालाई भेटेर भोट माग्न गोरखा सदरमुकाम पुगेका हुन्।

गण्डकी प्रदेशबाट गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उमेदवार मनरुपा शर्माले आज (बुधबार) सदरमुकाममा मतदाताहरुसँग भेटघाट गरेका हुन्।

मतदाता भेटघाट कार्यक्रममा उमेदवारहरुले निर्वाचनमा जितेर गएपछि मतदाताहरुप्रतिको जिम्मेवारी नभुल्ने प्रतिवद्धता जनाएका छन्।

‘तपाई गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु पनि हाम्रा मतदाता हुनुहुन्छ, हामी तपाइँहरुले दिएको मतले विजयी भएर जाने हो’, नेपाली काँग्रेस गण्डकी प्रदेशबाट राष्ट्रियसभाका उमेदवार रहेका किरणबाबु श्रेष्ठले भने, ‘चुनाव जितेर गएपछि तपाइँहरुप्रति नै उत्तरदायी भएर काम गर्नेछौ।’

आफूहरुको विजयले राष्ट्रियसभालाई संविधानले दिएको अधिकार र संविधानको आकांक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने उनले बताए।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदका उमेदवार रहेकी उमेदवार मनरुपा शर्माले मतदाताहरुसँग निर्वाचन जितेर गएपछि सवै मतदाताको भावना समेट्न सक्ने जनप्रतिनिधिको रुपमा रहेर काम गर्ने प्रतिवद्धता जनाइन्।

‘जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुसक्छु भन्ने विश्वास छ’, उनले भनिन्, ‘जनयुद्धमा नै परिवार गुमाई सकेकाले अव मैले गर्ने काम जनता र हो देशका लागि मात्र हो।’

काँग्रेसकाका तर्फबाट अपाङ्गता तथा अल्पसंख्यकहरुको तर्फबाट उमेदवार बनेका पदमबहादुर परियारले मतदाताहरुसँग राष्ट्रिय सभाबाट बन्ने ऐन कानुन तथा नीति नियमलाई समावेशी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

गोरखा जिल्लामा ११ पालिका छ। मतदाता भेटघाट कार्यक्रममा गोरखा जिल्लाभित्रका पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो।

राष्ट्रियसभाका लागि गोरखाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र मतभार ४१८ छ।