टाइगरकप भलिबल: पुरुषतर्फ घरेलु गण्डकी सेमिफाइनल पुग्यो

अन्तिम खेलमा गण्डकीलाई हराएपनि विभागीय आर्मी समूह चरणबाटै बाहिरियो

जनसम्मत
माघ ४, २०८०, बिहीवार

घरेलु टोली गण्डकीले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

समूहको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले ३–२ को सेटमा हराए पनि गण्डकीको टोली सेमिफाइनल यात्रा गरेको छ।

विभागीय आर्मी भने समूह चरणबाटै बाहिरिएको छ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनि अंक तालिकामा गण्डकी र हेल्प नेपाल भन्दा पछि रहँदै बाहिरिएको हो।

हेल्प नेपाल ४ अंकका साथ शीर्ष स्थानमा र गण्डकी ३ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो।

अत्यन्तै, रोमाञ्चक बनेको खेलको पहिलो सेट २०–२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१७ ले जितेसँगै फाइनल प्रवेश गर्न सफल भएको हो। चौथो सेट गण्डकीले २१–२५ ले गुमायो।

गण्डकीले अन्तिम सेट ६–१५ ले गुमायो।

गण्डकीले यसअघि हेल्प नेपाललाई ३–२ को सेटमा हराएको हो।

हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको हो।

समूह ‘बी’ बाट एपीएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ।