प्रधानमन्त्री कप क्रिकेट आर्मी क्लब फाइनलमा

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दनकुमार यादबले १६ र अदिल खानले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीका शाहब आलमले ३ विकेट हात पारे । करण केसीले २, रोहितकुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ९ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिङ्स खेले । बिनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन जोडे । यस्तै, रोहितकुमार पौडेलले ४३ रन जोड्दा हरिबहादुर चौहानले ३८ तथा राजेश पुलामी मगरले २९ रन बनाए । कुशल मल्ल २६ रनमा अविजित रहदा करण केसीले २१ रन बनाए ।

पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ का लागि नन्दनकुमार यादव र जितेन्द्रसिंह ठकुरीले समान २ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले समान १ विकेट लिए ।

अब आर्मीले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ ।