हेल्प नेपाल टाइगर कप भलिबलको फाइनलमा

हेल्प नेपालले घरेलु गण्डकी प्रदेश र एपीएफबीचको विजेतासँग उपाधिका लागि फाइनल खेल्नेछ

जनसम्मत
माघ ५, २०८०, शुक्रबार

हेल्प नेपाल स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको फाइनलमा स्थान बनाएको छ।

पोखरामा जारी चौथो टाइगर कपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोट्र्स क्लबले फाइनल यात्रा तय गरेको हो।

पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुनरागन गर्दै हेल्प नेपालले जित निकालेको हो।

श्रीलंकाले पहिलो सेट २५–१८ जितेपनि त्यसपछिका सेटहरु भने लगातार गुमाउन पुग्यो।

दोस्रो सेट १४–२५, तेस्रो सेट १८–२५ र चौथो सेटमा २४–२६ ले गुमाउँदै आफ्नो यात्रालाई श्रीलंका आर्मीले टुंगायो।

अब, हेल्प नेपालले घरेलु गण्डकी प्रदेश र एपीएफबीचको विजेतासँग उपाधिका लागि फाइनल खेल्नेछ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ नगद र ट्रफी, मेडल तथा प्रमाणपत्रसहित प्राप्त गर्नेछन्।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५/२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले १५/१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।