टाइगर कप महिलातर्फको उपाधिमा विभागीय एपीएफको ह्याट्रिक

जनसम्मत
माघ ६, २०८०, शनिबार

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टाइगर कप भलिबल महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ।

आज (शनिबार) पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगिताको अन्त्यसँगै विभागीय एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो।

यसअघि, एपीएफले टाइगर कप भलिबलको दोस्रो र तेस्रो संस्करणको विजेता समेत हो।

यो जितसँगै एपीएफले लगातार तेस्रो उपाधि जितेको छ।

यस संस्करणको फाइनलमा चन्द्रागिरी न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले तेस्रो पटक उपाधि चुमेको हो।

पहिलो २ सेटमा खराब प्रदर्शन गरेको न्यु डायमन्डलाई पहिलो सेटमा एपीएफले २५–२० र दोस्रो सेटमा २५–१८ ले हरायो।

तेस्रो सेटमा २५–२१ ले जित सुनिश्चित गर्‍यो।

उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

दोस्रो भएको न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गर्‍यो।

प्रतियोगितामा एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेला बनिन्।

एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै जस्मिता महतो उत्कृष्ट सर्भर, न्यू डायमण्डकी बालमिका आचार्य उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर र न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, एपीएफका महेश चौचरी उत्कृष्ट प्रशिक्षक चुनिए।

उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे।