मिडिया विधेयक मिडियामैत्री आउँछ: मुख्यमन्त्री पाण्डे

जनसम्मत
माघ १२, २०८०, शुक्रबार

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्।

पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्।

‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’

उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए।

सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सुचना मानेर समाचार लेखिनु गलत भएको उनको तर्क छ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताइन्।

उनले पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारितामा लागेकाहरुलाई प्रोत्साहन मिल्ने उल्लेख गरन्।

पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनले स्पष्ट पारिन्।

सम्मानीतहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफू सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए।

पत्रकारिता क्षेत्रमा समस्या भएपनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनको भनाई छ।

सम्मानीत भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मानत सबै पत्रकारको परिचय खुलाए।

कर्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना पंगेनीलगायतले आफ्ना भनाई राखे।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले दिएका थिए भने सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए।