आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

जनसम्मत
माघ १०, २०८०, बुधबार

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हार्न पुगेको हो।

नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ।

लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने संभावना बाँकी छ।

यसका लागि नेपालले अन्तिम खेलमा भोलि शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन्।

हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।