‘ढाकछोप र बार्गेनिङ पत्रकारिता’ चल्दैन: अध्यक्ष बस्नेत

जनसम्मत
मंसिर २९, २०८०, शुक्रबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘ढाकछोप र बार्गेनिङ’को पत्रकारिता नचल्ने बताएका छन्।

‘सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएको छ’, उनले भनेका छन्, ‘पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको छ।’

बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्।

उनले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गरे।

कसैको गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको उल्लेख गरे।

उनले सञ्चार माध्यमले संप्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्ने अवस्था आएको समेत बताए।

’कुनै नयाँ र खोजमूलक सामग्री कम तर केही बेथितिका कुरा आउला भनेर ढाकछोप गर्नका लागि पनि अनलाइन खुलेका देखियो’, उनले थपे, ‘त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ।’ काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको छ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए।

काउन्सिलका सदस्य दिपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने भन्दै सूचना खोज्ने पत्रकारले नै विज्ञापन पनि खोज्न नहुने सुझाव दिए।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो।

काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहराले कार्यक्रमको सहजीकरण गरेका थिए।

 

समाचार श्रोत/तस्बीर: प्रेस काउन्सिल नेपाल