‘भाषाको अन्योल हटाउन विशेष समितिको खाँचो’

जनसम्मत
पौष १७, २०८०, मंगलवार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताएका छन्।

त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार संचारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे भाषासम्बन्धी अन्योल हट्ने विश्वास व्यक्त गरे।

उनले भाषा आयोग आफैँ अलमलमा रहँदा पनि अन्योलको स्थिति आएकाले वरिष्ठ, अनुभवी विज्ञ संलग्न समितिको आवश्यकता भएको औँल्याए।

साहित्यिक पत्रकारिताबाट समग्र पत्रकारिताले कुन भाषाको र कसरी प्रयोग गर्ने भनी सिक्नुपर्नेमा उनले जोड दिए।

‘हामी हजुरबुबा/हजुरआमालाई तिमी भन्दैनौँ तर पत्रकारितामा त्यही प्रयोग भएको छ’ उनले स्पष्ट पारे, ‘साहित्यले पत्रकारितालाई सिकाउँछ भने पत्रकारिताले साहित्यलाई बचाउँछ। त्यसैले साहित्यिक पत्रकारितालाई बचाउन सबै जुट्नुपर्छ।’

कुन निकायको भाषालाई आधिकारिक मान्ने भन्ने अन्योल रहेकाले त्यो हटाएर एकरुपता कायम हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले पनि भाषालाई सर्वमान्य बनाउनका लागि सरकारले भाषाका विषयमा विज्ञता भएका व्यक्तिहरु राखेर समिति बनाउन ढिलो भइसकेको उल्लेख गरे।

वरिष्ठ भाषाविद् शरच्चन्द्र वस्तीले भाषा नै ज्ञान, विज्ञान र सभ्यताको विकासको मूल भएको स्पष्ट पारे।

भाषाको प्रयोग कसरि गर्ने भन्ने विषय शासकीय सत्ता प्रयोग गरेर मात्रै निर्धारण हुन नसक्ने उनको भनाई छ।

साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले भाषागत एकरुपताका लागि काउन्सिलसहितका सरोकारवाला निकाय एक ठाउँमा उभिनुपर्ने बताए।

प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले नेपाली भाषा मास्ने काम धेरैतिरबाट भइरहेको उल्लेख गरे।

विगतमा सरकार प्रमुखले समेत मिडियामा प्रयोग भएको भाषाका विषयमा आपत्ति जनाउने अवस्था आएको बताउँदै उनले राष्ट्रप्रमुख वा अरु कसैलाई तिमी कि तपाइँ के भन्ने ? भनी निर्धारण गर्नुपर्ने उल्लेख प्रश्न गरे।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकारिताको अनुगमन गर्न काउन्सिलमा छुट्टै शाखा र महाशाखा चाहिने बताए।

राष्ट्रिय मिडियामा प्रयोग हुने भाषामा एकरुपताको खाँचो रहेको उनको धारणा छ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले काउन्सिलले भाषाको एकरुपता र साहित्यिक पत्रकारिताको प्रबद्र्धनका लागि गरेका कार्यक्रमको प्रसंशा गरे।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरैले भाषा सिक्न साहित्यिक पत्रिकालाई आधार मान्दै आएको उल्लेख गरे।

कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनमा पनि साहित्यक पत्रकारिता र भाषाका विषयमा छलफल गोष्ठीलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा काउन्सिलका पूर्व सदस्य चेतनाथ धमला, साहित्यिक पत्रकार अश्विनि कोइरालालगायतले साहित्यिक पत्रकारिताको प्रबद्र्धनका विषयमा आ–आफ्ना सुझाव राखेका थिए।

 

समाचार श्रोत/तस्बीर: प्रेस काउन्सिल नेपाल