फिफा अध्यक्ष जियानी ईनफान्टिनोको टाउकोमा नेपाली ढाका टोपी

विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित, ४९ बर्षीय स्विस–ईटालियन इन्फान्टिनोले सन् २०२३ सम्म फिफाको नेतृत्व गर्नेछन्

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा । फ्रान्सको पेरिसमा जारी फिफा कंग्रेस बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो नेपाली ढाका टोपीमा सजिएका छन् ।

बैठकका लागि नेपाली टोलीको नेतृत्व गरेका अखिल नेपाल फुटबल संघ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली ढाका टोपी लगाइदिएका हुन् ।

इन्फान्टिनो पुनः फिफा अध्यक्ष

फिफा अध्यक्षमा उनै जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा इन्फान्टिनो दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । ४९ बर्षीय स्विस–ईटालियन इन्फान्टिनोले सन् २०२३ सम्म फिफाको नेतृत्व गर्नेछन् । फ्रान्सको पेरिसमा बसेको फिफाको बार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित गरेको हो ।

सेप ब्लाटरपछि फिफा नेतृत्वमा आएका उनीले सन् २०२६ को विश्वकपमा टिम संख्या परिवर्तन र क्लब विश्वकपको ढाँचामा व्यापक फेरबदल गरेका छन् । सन् २०१५ मा भएको भ्रष्टाचारको काण्डमा तत्कालीन अध्यक्ष ब्लाटर १७ बर्षको निलम्बनमा परेपछि फिफा नेतृत्वमा इन्फान्टिनो आएका थिए ।

इन्फान्टिनोको निर्वाचन अगाडि फिफाले एक नियम परिवर्तन गरेको थियो । निर्वाचनमा एक मात्र उम्मेवारी रहेको खण्डमा फिफाका २ सय ११ राष्ट्रले भोट गर्न नपर्ने नियम बनाएको थियो ।

युइएफएका पुर्व महासचिवसमेत रहेको इन्फान्टिनोले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढाएर ३२ टिमबाट ४८ पु¥याएका छन् । सो प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

यस्तै, फिफाले सन् २०२१ बाट क्लब विश्वकपमा २४ टिम खेलाउने निर्णयलाई अनुमोदन गरेको छ । यद्यपी, युरोपको ठूला क्लबले प्रतियोगिता बहिष्कार गर्ने जनाएका छन् ।