‘युट्युब व्यवस्थापन’, काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

जनसम्मत
पौष २६, २०८०, बिहीवार

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ।

बिहीबार संचारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो।

कार्यक्रममा युट्युब संचालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री संप्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए।

उनीहरूले डिजिटल माध्यममार्फत सूचना संप्रेषण कार्यमा सहयोग नभएको गुनासो गरे।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आचारसंहिता पालना गर्दै पत्रकारिता गर्ने हो भने संचारका सबै क्षेत्रबाट साथ सहयोग हुने बताए।

काउन्सिलले युट्युबरका समस्यामा गंभीरतापूर्वक कार्य गरिरहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने उल्लेख गरे।

हिँजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब संचालकले भोगेको उनको भनाई थियो।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले युट्युबमार्फत गरिने पत्रकारिता सन्तुलित र जवाफदेही नहुने हो भने यसमाथि प्रश्न सधैँ उठिरहने उल्लेख गरे।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमलगायतले संचार माध्यमका रूपमा संचालन हुने युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएकोमा जोड दिए।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरे।

यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू’, विषयक कार्यपत्र प्रस्तुत गरे।

सह–प्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामाग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ विषयक कार्यपत्र प्रस्तुत गरे।

अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा कार्यपत्र प्रस्तुत गरे।

काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले सहजीकरण गरेको कार्यक्रमको समापन वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गरेका थिए।

 

समाचार श्रोत/तस्बीर: प्रेस काउन्सिल नेपाल