विभागीय आर्मी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

जनसम्मत
माघ १४, २०८०, आइतबार

विभागीय टोली त्रिभुवन आर्मी क्लबले २३ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आइतबार सम्पन्न दोश्रो क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो।

आर्मीको जितका लागि दिनेश हेमजनले २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे।

४५ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसमा अनमार्क रहेका जिलेस्पीले हेडमार्फत गोल गर्दै आर्मीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए।

४९ औं मिनेटमा दिनेशले पेनाल्टीमार्फत गोल गरेपछि आर्मीले २–० ले अग्रता लियो।

आर्मीका दिनेशले हानेको प्रहार रोक्ने क्रममा संकटाका कुलिदप कार्कीले ह्याण्ड गरेपछि आमीलाई पेनाल्टीको अवसर मिलेको थियो।

त्यसपछि, ७६ औं मिनेटमा दिनेशले जिलेस्पीजंग कार्कीको पासमा व्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए।

आर्मी सेमिफाइनलमा पुग्दा साविक विजेता संकटा भने पहिलो खेलबाटै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।