पत्रकार त्रिभुवन र अनिलको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन

जनसम्मत
माघ १६, २०८०, मंगलवार

गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्।

प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो।

पुस्तकमा स्व पत्रकारद्वयको जीवनी, विभिन्न पत्रकार तथा पत्रकार सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष तथा संचारकर्र्मीले उनिहरूसँगको सहकार्यलाई किताबमा उल्लेख गरेका छन्।

स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाएका पत्रकारहरूको पनि संक्षिप्त परिचय समेटिएको छ।

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत रहेका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिए।

उनले गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा ३ कार्यकाल पदाधिकारीमा रहेर काम गरेका थिए।

महासंघ प्रदेश समितिले पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ।

यसैगरी, प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ।

पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो।