विभागीय त्रिभुवन आर्मी क्लब आहा ! रारा गोल्डकपको फाइनलमा

जनसम्मत
माघ १८, २०८०, बिहीवार

विभागीय त्रिभुवन आर्मी क्लबले आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा स्थान बनाएको छ।

२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले हराउँदै आर्मी क्लबले पाँचौ पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनल यात्रा गरेको हो।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा आर्मी र चर्च ब्वाइजले १/१ गोलको बराबरी खेलेपछि खेल थप समयमा धकेलिएको थियो।

खेलको ६१ औं मिनेटमा आर्मीका मिडफिल्डर दिनेश हेम्जनले आर्मी र खेलकै सुरुवाती गोल गरेका थिए।

आर्मीले करिब ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा हेम्जनले गोल गरे।

उनले ग्राउण्ड सट प्रहार गरेका थिए।

जसलाई चर्च ब्वाइजका किपर सन्तोस महतले रोक्ने मौकै पाएनन्।

८५ औं मिनेटमा समीर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्कियो।

खेल सकिन पाँच मिनेटअघि समिर तामाङले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए।

आर्मीका लागि खेलको ९९ औ मिनेटमा रसबहादुर मगरले गोल गरे।

रसबहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गर्दै आर्मीलाई २–१ को सुनिश्चित जित दिलाए।

फाइलनमा आर्मीले थ्रीस्टारसँग उपाधिका लागि शनिबार फाइनल खेल्नेछ।

यसअघि, चार पटक फाइनल पुगेपनि आर्मीले हालसम्म आहा ! राराको उपाधि जित्न सकेको छैन।

यस पटकको आहा ! रारा च्याम्पियन टोलीले १२ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछ।

उपविजेता टोलीले ६ लाख १ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ।

यसैगरी, विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजारका दरले पुरस्कार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्।