पुलिसले जित्यो पीएम कप क्रिकेटको उपाधि

जनसम्मत
माघ २०, २०८०, शनिबार

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनल खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

पुलिसका लागि शंकर रानाले ६२ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, अर्जुन साउदले ३६ रन बनाउँदा अमित श्रेष्ठले २८ तथा आरिफ शेखले २७ रनको योगदान गरे।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले १/१ विकेट लिए।

त्यसअघि, पहिले ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा संपूर्ण विकेट गुमाउँदै १८१ रन बनाएको थियो।

आर्मीका लागि विवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे।

पुलिसका लागि ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए।

त्यस्तै, सागर ढकाल, करण केशी र कुशल भुर्तेलले १/१ विकेट लिए।