गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको नि:शुल्क स्वास्थ्य बीमा

जनसम्मत
माघ २३, २०८०, मंगलवार

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।

‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ,’ उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’

गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ।

आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको उनको भनाइ छ।

कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई नि:शुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए।

‘कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ,’ उनले भने, ‘नियमित रूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ।’

गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन्।

दीर्घरोगी तथा गर्भवतीलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

कार्यक्रम अब निरन्तर चल्नेछ।

बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका ५ जना सदस्यको समेत नि:शुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ।

 

राससको समाचार छ।