पोखरामा ११ औं संस्करणको लिटरेचर फेस्टिभल सुरु

फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ

जनसम्मत
फागुन ३, २०८०, बिहीवार

पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ।

फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे।

मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे।

उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पुर्‍याएको विश्वास व्यक्त गरे।

उनले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी गराए।

‘लोकतान्त्रिक आन्दोलनमा कवि, कलाकार र लेखकको योगदान उच्च छ’, मुख्यमन्त्री पाण्डेले प्रष्ट पारे, ‘स्रष्टाहरूप्रति सदा सम्मान रहेको र रहिरहने छ।’

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सूर्य खड्का ‘विखर्ची’ले आफैँमा सुन्दर पोखरालाई साहित्यिक महोत्सवले अझै सुन्दरता थपिने बताए।

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सके मात्र मुलुकको राष्ट्रियता बलियो हुने ‘विखर्ची’ को धारणा छ।

पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले दुर्गा बराल ‘वात्स्यायन’ को कार्टून संग्रह ‘वात्स्यायन एन्ड हिज बाब्र्स’को विमोचन गरे।

‘वात्स्यायन’का कार्टूनको प्रदर्शनी पनि आजै (बिहीबार)बाटै सुरु भएको छ।

बुकवर्म फाउन्डेसनको आयोजना रहेको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक नीरज भारीले पोखरामा हुने साहित्यिक महोत्सवले

कवि, लेखक र साहित्यकारका कलमलाई अझै बलियो बनाउन मद्दत पुग्ने उल्लेख गरे।

कार्यक्रममा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधान र सुशासन विषयमा केन्द्रीत रहेर प्रवचन दिए।

५८ भन्दा बढी सेसन हुने यस पटकको फेस्टिभलमा ३ सयभन्दा बढी अतिथि सेसनमा सहभागी हुने बताइएको छ।

‘पोखरा सेरोफेरो’का विषयमा बहस, छलफल र अन्तरसंवाद हुने फेस्टिभलमा साँझपख सांगीतिक रमझमले हरेक दिन सेसनको बिट मारिने फाउन्डेसनले जनाएको छ।

विश्वचर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड फेस्टिभलमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सन् २०११ मा काठमाडौँको झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल छैटौँ संस्करणदेखि पर्यटकीय सहर पोखरामा चल्दै आएको छ।

फेस्टिभल फागुन ७ सम्म चल्नेछ।

प्राकृतिक सुन्दरतासँगै फेस्टिभलको साहित्यिक, सांस्कृतिक, भाषालगायतको रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको आम जनमानसमा विश्वास छ।