गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनायो

संघीयतालाई सफल बनाउन संघीय सांसदको क्रियाशीलता आवश्यक रहेको मुख्यमन्त्री पाण्डेको धारणा

जनसम्मत
फागुन ४, २०८०, शुक्रबार

गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ।

स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखराको सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म नेपाल प्रहरीको व्याण्ड बाजासहित विभिन्न जनजातिका झाँकी निकाल्यो।

झाँकीमा प्रदेश सरकारका मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजित मूल समारोह कार्यक्रममा बोल्दै संघीयतालाई सफल बनाउन आग्रह गरे।

संघीयतालाई सफल बनाउन संघीय सरकार मात्र नभई अब संघीय सांसदको पनि क्रियाशीलता आवश्यक रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो।

मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेशको आवश्यकता छैन भन्ने भाष्य निर्माण भएर वितृष्णा फैलाउन खोज्ने सबैलाई सकरात्मक जवाफ दिन पनि संघीय सांसदको भूमिका प्रभावकारी हुनुपर्दछ।’

संघ सरकारले आवश्यक कानुन बनाउन नसक्दा र संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न कठिन भएको यस बेला प्रदेशमा रहेर संघमा प्रतिनिधित्व गरेका सांसद र संघमा रहेर प्रदेशमा आएका सांसदप्रति मुख्य मन्त्री पाण्डेको आग्रह थियो।

उनले अगाडि थपे, ‘सरकारले बिजनेस दिएन भनेर मात्र हुँदैन। सांसदले पनि आफ्नो भूमिका खोज्नुपर्छ। संघले काम नगर्ने हुँदा जनताको अपजस प्रदेश सरकारले भोगिरहेको छ।’

मुख्यमन्त्री पाण्डेले संघीय शासन प्रणालीमा सरकारका तहहरुबीच शक्ति संघर्ष र प्रतिस्पर्धा नतिजा प्राप्तिका लागि हुने निरन्तर प्रक्रिया भएको बताए।

उनले स्पष्ट पारे, ‘सरकारका तहबीच सुमधुर अन्तरसम्बन्ध र समन्वय संघीयताको अनिवार्य शर्त हो।’

उनले नागरिकको असीमित आकांक्षा र सीमित स्रोत साधनबीच तालमेल मिलाउन सरकारले सिर्जनशील रणनीति तय गर्नुपर्नेमा जोड दिए।

यसका लागि जनविश्वास सुदृढ गर्नुपर्नेमा प्रदेश सरकार सचेत रहेको उनले स्पष्ट पारे।

स्थापनाकालदेखिका सरकारले गरेका कार्य सम्पादन, उपलब्धी, सामथ्र्य नै गण्डकी प्रदेशका आधार स्तम्भ भएको मुख्यमन्त्री पाण्डेको धारणा छ।

‘राजनीतिक इच्छाशक्ति, संविधानप्रतिको प्रतिबद्धता, सामूहिक भाव र नागरिकप्रतिको जिम्मेवारी नै गण्डकी प्रदेश सरकारका समुन्नति र उन्नतिका मार्गचित्र बनेको छ‘, मुख्यमन्त्री पाण्डेको भनाई छ।

उनले प्रदेशको सुचकांकमा अन्य प्रदेशको तुलनामा नागरिकको जीवनमा सकारात्मक उन्नयनका आशा जगाएको बताए।

मुख्यमन्त्री पाण्डेले जनता सामु गरिएका प्रतिबद्धता पूरा गर्ने कामलाई सरकारले आफ्नो जिम्मेवारीको रुपमा लिएको स्पष्ट पारे।

‘सुशासन, सेवा प्रवाह, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धिमा सरकार सदैव दृढ र प्रतिबद्ध छ’, मुख्यमन्त्री पाण्डेको धारणा छ।

त्यसैगरी, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री सांसद पृथ्वीसुब्बा गुरुङले संघीयता भनेको नै प्रदेश भएकाले प्रदेशलाई बलियो बनाए मात्र संघीयता बलियो हुने धारणा राखे।

उनले आफ्नो पालामा स्थापना भएको गण्डकी प्रदेश सरकार अन्य प्रदेशभन्दा अब्बल बन्दै गएको दावी गरे।

संघ सरकारबाट अधिकार ल्याउन धेरै प्रयत्न गरेपनि अझैसम्म आउन नसकेको पूर्व मुख्यमन्त्री गुरुङले स्वीकार गरे।

त्यसैगरी, निवर्तमान मुख्यमन्त्री एवं गण्डकी प्रदेश संसदीय दलमा प्रमुख प्रतिपक्षी एमालेका नेता खगराज अधिकारीले प्रदेशले पाउने अधिकारलाई संघले दिन नसक्दा प्रदेश आलोचित भएको बताए।

प्रदेश सरकारलाई बलियो बनाउने काममा सबै दल एक भएर अगाडि बढ्नुपर्नेमा अधिकारीले जोड दिए।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले संघले जसरी कानुन निर्माण गर्छ सोहीअनुरुप प्रदेशले पनि कानुन बनाउन आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको स्वस्थ्यमा समस्या भएका कारण उपस्थिति जनाएनन्।