नेपालले आज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्दै

कुवेतसँग २ र मलेसियासँग १ खेल खेलेको नेपाली टोलीले गोल भने गर्न सकेको छैन

जनसम्मत
जेठ २३, २०७६, बिहीवार

पोखरा ।  नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबार ताइपेइसँग फुटबल खेल्दैछ ।

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसियाबाट मंगलबार ताइपेई पुगेको छ । फिफा विश्वकप छनौट प्रतियोगिता र एफसी एसियाली छनौट प्रतियोगिताको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली टोली मलेसियाबाट चाइनिज ताइपेई पुगेको हो । एफसीको छनौट प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा हुँदैछ ।

ताइपेइसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बुधबार पनि अभ्यास गरेको समाचार छ । फिटनेसमा काम गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीले भोली बिहिबार ताइपेईसँग खेल्ने तालिका रहेको छ । यसअघि मलेसियासँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालको लागि नयाँ प्रशिक्षकको रुपमा स्वीडेनका योहान कलिन आएदेखि नेपालले ३ वटा खेल खेलिसकेको छ । कुवेतविरुद्ध दुई र मलेसियासँग १ खेल खेलेको नेपाली टोलीले गोल भने गर्न सकेको छैन ।

नेपाल एसियाली वरियतामा शिर्ष ३४ मा परेको कारण छनौट चरणमा सिधै मौका पाएको बताइन्छ । फिफाको नियमअनुसार एसियाली क्षेत्रको शिर्ष ३४ टोलीलाई सिधै छनौट गर्ने र त्यस भन्दा पछिको टोलीले प्लेअफ खेल्नुपर्ने रहेको छ । नेपाल भन्दा वरियतामा पछि रहेको मलेसियाले भने प्ले अफ खेल्दै विश्वकप छनौट चरणमा स्थान बनाउन प्रयास गर्नुपर्नेछ ।