सम्पादक संवाद: ‘मिडियाले सामाजिक उत्तरदायित्व बढाउँ’

जनसम्मत
माघ २६, २०८०, शुक्रबार

सामाजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले ‘सम्पादक सम्वाद’ को आयोजना गर्‍यो।

सम्वादमा संचारका विज्ञहरुले युट्युबसहित सामाजिक सञ्जालको पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे ।

शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउन सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव समेत राखे।

सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको संचार माध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।

‘भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनुभएन। सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ’, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले आफ्नो धारणा राखे।

पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको भन्दै मूलधारका संचार माध्यमले समेत अधुरो समाचार दिने गरेको उल्लेख गरे।

नेपालले भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ संचार माध्यम र पत्रपत्रिकामा संकट देखिएको बताए।

उनले पछिल्लो समय सरकार सामाजिक सञ्जाल र संचारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएको दाबी गरे।

‘एउटा मान्छेलाई पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया मिडियम भएको तर म्यासेज हुन नसकेकोतर्फ गम्भीर भएर सोँच्नुपर्छ’, नेपालको भनाई थियो।

उनले पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका संचार माध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उनको भनाई थियो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य संचार माध्यमसरह अनुगमन र निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताए।

पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानललाई अनुगमन गर्दै आएको बस्नेतको भनाई छ।

बस्नेतले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘संचार माध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै संचार माध्यमलाई अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलधारका संचार माध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताए।

उनले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको उल्लेख गरे।

अध्यक्ष विपुल पोखरेलले लोककल्याणकारी विज्ञापन चन्दा नभएर विज्ञापन भएको स्पष्ट पारे।

डिजिटल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले कुनैपनि घटनामा सामाजिक सञ्जालमार्फत कमेन्ट गर्दा विचार गर्नुपर्नेमा जोड दिए।

विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यवसायिक पत्रकारिता मर्न लागेको उनको भनाई छ।

‘पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ’, प्रधानको सुझाव छ, ‘यसतर्फ सरकारले पनि सोच्नुपर्छ ।’

राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपी पेष्ट पत्रकारिताले पेसालाई अविश्वसनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्नेमा जोड दिए।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन र मिडिया एकअर्कामा जोडिएपनि यसबारे खासै चर्चा हुन नसकेको टिप्पणी गरे।

कुनैपनि मिडियाले सामग्री संप्रेषण गर्दा नि:शुल्क गर्न नहुने उनको धारणा छ।

सामाजिक सञ्जालमा सिधैँ विज्ञापन गएर मिडियामा विज्ञापन घटेको भएपनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उनको भनाई थियो।

अग्रज पत्रकार शम्भु श्रेष्ठले छापा माध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए संकट थपिदै जाने औंल्याए।

प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौति सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद श्रृंखला सुरु गरेको हो।

संचारिका समूहकी महासचिव बसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भएपनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकै पटक थाहा पाउने गरेको बताए।

‘मिडियामा साहुजीले यसलाई ब्यवसाय र पत्रकारको लागि यो समाज सेवा भन्ने गरेको छ’, उनले भनिन्, ‘यसलाई हटाउँदै जानुपर्छ।’

अन्तराष्ट्रिय पत्रकार महासंघका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिंदा काउन्सिल जस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले अरु मिडियाको विश्वसनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा राखे।

पत्रकार आफैँले खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको उनको भनाई थियो।

उनले भने, ‘पत्रकारहरु आफैँ बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ।’

यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले जानकारी दिए।

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकार विनु सुवेदी र रुची श्रेष्ठले प्रस्तुती राखेका थिए।

कार्यक्रममा सम्पादकहरु गुणराज लुइटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरी क्याम्पा राई, मात्रिका पौडेल, सरोज मिश्र, राजेन्द्र बानिया, टीकाराम यात्री, कल्पना आचार्य, प्रकास रिमाल, मिलन तिमिल्सिना, केपी ढुंगाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे, ज्योति जिसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव राखेका थिए।

कार्यक्रममा छापामाध्यम, अनलाइन, रेडियो, टिभि, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी थिए।

प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, मधेषी पत्रकार समाज, अनलाइन टिभी संघसहित विभिन्न संचार संगठनका अध्यक्ष र प्रतिनिधि समेत कार्यक्रममा सहभागी थिए।