प्रेस युनियनले काँग्रेस महासमिति बैठक बहिष्कार गर्‍यो

महासमितिमा युनियनबाट ४ जना प्रतिनिधि रहने व्यवस्था छ

जनसम्मत
फागुन ७, २०८०, सोमबार

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठक बहिष्कार गरेको छ।

काँग्रेसको महासमिति बैठकप्रति आपत्ति जनाउँदै युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गंभीर ध्यानाकर्षणसमेत गराएको छ।

युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत् युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन्।

‘काँग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ लम्सालले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मुल्यकोसमेत प्रवाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अनाधिकृत र अप्रासंगिक निर्णय गरिएको प्रति युनियनको गंभीर आपत्ति छ।’

महासमितिमा युनियनबाट ४ जना प्रतिनिधि रहने व्यवस्था छ।

काँग्रेसले ईश्वरी ओझा, बद्री सिग्देल, सरोज अधिकारी र शिव लम्साललाई महासमिति सदस्य बनाएको छ।

तर, लम्सालबाहेक पुरानो कार्यसमितिलाई महासमिति सदस्य बनाएपछि अहिलेको शिव लम्साल कार्यसमितिले विरोध गरेको हो।