पोखराको मुख्य बजार महेन्द्रपुलमा बन्यो अन्तर्राष्ट्रिय झण्डा पार्क

अब, महेन्द्रपुल पनि पोखराको पर्यटकीय गन्तब्य बन्ने अपेक्षा ....

जनसम्मत
फागुन ७, २०८०, सोमबार

पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ।

साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका ५ संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

उक्त पार्कमा संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित १९७ वटा झण्डा राखिएका छन्।

प्रत्येक देशको झण्डामुनि सो देशले संयुक्त राष्ट्र संघमा सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ।

त्यसैगरी, पार्कको बिचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ।

महानगर प्रमुख धनराज आचार्यले उक्त पार्क उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले यसले पोखराको नयाँ पर्यटकीय गन्तव्य बढाउने दाबी गरे।

विश्वका सबै देशका झण्डा एकै ठाउँमा राख्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उनको भनाई थियो।

महानगर प्रमुख आचार्यले भने, ‘पोखरामा संसारभरका पर्यटक आउँछन्। यहाँ आएर आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व महशुस हुन्छ। यसले पोखराको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्नेछ।’

झण्डा पार्क सामाजिक विषयका विद्यार्थीका लागि समेत अध्ययन अवलोकनको गन्तव्य बन्न सक्ने भएको छ।

महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयलाई एक दिन सो पार्कमा विद्यार्थीलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ।

सेती नदीको दृश्यावलोकनसहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाइँ अवधि बढाउनसमेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ।

लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताए।

यस महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको बताए।

पोखरा आफैँमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्काे सुन्दरता थपेको उनको भनाई थियो।

‘यो पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ’, बुर्लाकोटीले भने।

महानगरपालिकाको वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटक बजार क्षेत्रमा रहेको महेन्द्रपुलमा पनि आउने र यसले पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने बताए।

महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँबायाँ रहेका पुराना भवन भत्काएर उक्त पार्कका साथै सार्वजनिक शौचालय पनि निर्माण गरेको छ।

 

तस्बीर: मिलन फोटो स्टुडियो