नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी संचार माध्यम बनाइने मन्त्री शर्माको भनाई

जनसम्मत
माघ १७, २०८०, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्।

नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको समेत बताइन्।

‘विगतमा सरकारी स्वामित्वका संचार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौं,’ उनले स्पष्ट पारिन्।

उनले सरकारी संचारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन/प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुर्‍याउने दोहोरो माध्यमका रुपमा रहेको बताइन्।

आमसंचार क्षेत्रको पुन:सरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाएर नेपाल मिडिया काउन्सिल विधेयक र आम संचार विधेयक तयार पारिएको मन्त्री शर्माको भनाई थियो।

उनले आमसंचार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसंचारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताइन्।

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृंखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण/प्रकाशनमा जोड दिन आवश्यक रहेको बताइन्।