नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगन, प्रधानमन्त्रीको यूरोप भ्रमणपछि लगत्तै बैठक बस्ने

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएकोले स्थगन गरिएको हो

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएकोले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगेपनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो’, उनले भने, ‘त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भएपनि एकछिन बसेर बैठक स्थगन गरियो ।’

अर्को बैठक युरोप भ्रमणपछि

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जादै छन् ।

पार्टीको विहीबार बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने तयारी गरेको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सह–इञ्चार्ज तोक्ने विषयमा मंगलबारदेखि नियमित बैठक बस्दै आएको थियो । कार्यविभाजन सकाएपछि बाँकी रहेका सांठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।