वाफ वुमन्स च्याम्पियनसीप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

प्यालेस्टाइनको पोस्टमा नेपालको ४ गोल

जनसम्मत
फागुन १२, २०८०, शनिबार

नेपालले वाफ वुमन्स च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ।

शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह विजेता बनेको हो।

खेलमा सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले १/१ गोल गरे।

खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन्।

पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको थियो।

६० औँ मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

७९ औँ मिनेटमा रश्मी घिर्सिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन्। साबित्राको दोस्रो गोलसँगै नेपाल ३–० ले अघि बढ्यो।

दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टीमार्फत चौथो गोल गर्‍यो।

सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गीता रानाले सहजै गोल गरिन्।

अन्तत: नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बन्यो।

नेपालले समूह ’बी’ मा सबै ३ खेल जितेर अपराजित रहेको समूह ’ए’ को उपविजेता लेबनानसँग मंगलबार खेल्नेछ।