नेपाल वाफ महिला च्याम्पियनसीप फुटबलको उपविजेता

फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित

जनसम्मत
फागुन १७, २०८०, बिहीवार

नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसीप फुटबलको उपविजेत ाबनेको छ।

फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको छ।

गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग

टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो।

जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ।

नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।

टाइब्रेकरमा जोर्डनकी आय कप्तान मायसा बराह, अल मजालीलगायत पाँचै जनाले गोल गरे।

टाइब्रेकरमा नेपालकी गीता राना, दिपा शाही, हिरा भुजेलले गोल गरे भने अमृता जैसी गोल गर्नबाट चुकिन्।

त्यसअघि, खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो।

नेपालका लागि सविता रानामगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन्।

अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गरेकी थिइन्।

त्यस्तै, खेलको ७४ औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याइन्।

त्यसपछि खेलको ८९ औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍यो।

जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन्।

तर, खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।

जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

यसअघि, नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो।

जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।

फिफा वरीयतामा नेपाल १०५ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ।