‘पत्रकारहरुले सचेत भएर कलम चलाउनुस्’

जनसम्मत
फागुन ३०, २०८०, बुधबार

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताएका छन्।

प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका संचालक÷सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले यस्तो बताएका हुन्।

आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई महासचिव पुरीको आग्रह थियो।

पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उनको चिन्ता थियो।

अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे समेत प्रष्ट पारे।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने उल्लेख गरे।

सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उनको भनाई थियो।

पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे दाहालले प्रष्ट पारे।

उनले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने दावी गरे।

३५ वटा अनलाइनका संचालक/सम्पादकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए।

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सह–प्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा संचार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको उल्लेख गरे।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका संचालक/सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ।

हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी संचालक/सम्पादकले यस्तो कक्षा लिएका छन्।

पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री संप्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ।