पोखरामा बैशाख १० गतेदेखि दोस्रो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

जनसम्मत
चैत्र ३०, २०८०, शुक्रबार

पोखरामा दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१ हुने भएको छ।

गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयको आयोजनामा यही बैशाख १० गतेबाट पोखराको सभागृहमा मेला हुन लागेको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विद्यार्थी र सरोकारवालालाई जानकारी दिन, बेरोजगारहरुका लाग रोजगारी प्रदान गर्न र रोजगारदाता संघसंस्थाहरुका लागि दक्ष जनशक्ति प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ।

मेलाले सीप भएर पनि बेरोजगार भएका युवा तथा दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्ने मेला मूल आयोजक समितिका संयोजक अम्बिकाप्रसाद आचार्यले बताए।

आचार्यका अनुसार मेलामा निःशुल्क प्राविधिक शिक्षा समेत प्रदान गरीनेछ।

मेलाले रोजगार विनिमय प्रणाली विकास गर्न सहयोग पुग्ने पनि आचार्यले बताए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण र सफल उद्यमीका कथामार्फत उद्यमशीलताका लागि अभिप्रेरणा, शैक्षिक एवं नवप्रवद्र्धात्मक अभ्यासहरुको प्रदर्शनी समेत हुनेछन्।

मेलामा विद्यालय तहको अध्ययन पश्चात के पढ्ने र के सिक्ने भनेर अल्मलिएकाहरुलाई पनि मार्ग प्रदान गर्ने जनाइएको छ।

मेलामा सीप परीक्षण र सीपमूलक तालिमका अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवाहरु, टक शो तथा विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ।

मेलालाई व्यवस्थित र सफल पार्न गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा ६ वटा उपसमितिहरुको गठन समेत गरेको छ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

‘समृद्ध गण्डकीको आधार, उद्यमशीलता र रोजगार’ मेलामा मूल नारा रहनेछ।