प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई ‘हिमडमरु’ को उपाधि

जनसम्मत
चैत्र २९, २०८०, बिहीवार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ‘हिम डमरु’ को उपाधिले सम्मान गरिएको छ।

साहित्यिक पत्रकार संघले काउन्सिल अध्यक्ष बस्नेतलाई बिहीबार सो उपाधिले सम्मान गरेको हो।

हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो।

बरिष्ठ साहित्यकार रोचक घिमिरे, बरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरे।

बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे हिँडेरै तयार पारेको वृत्तचित्र समेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको हो।

उनलाई सम्मानपत्रमा हिमडमरुको उपाधि दिइएको हो।

कार्यक्रममा बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्र पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए।

जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएको र त्यसले समग्र पर्या पर्यटनमा ठूलो क्षति पुग्दै गएकोतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बस्नेतले सुझाव दिए।

‘जलवायु, पर्यटन र पर्यावरण जोगाउने कुरा पृथ्वी बचाउने कुरा भएको भन्दै पृथ्वी बच्यो भने मात्र हिमाल बाँच्छ र हामी बाँच्छौं’, अध्यक्ष बस्नेतले भने ‘हिमाल बाँचे मात्र, जल रहन्छ, पर्या पर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन्। त्यसैले हामी हिमाल बचाउनतिर लागौं।’

बस्नेतले समृद्धि सडक बनाउनु र भवन बनाउनु मात्रै होइन भन्ने सन्देश दिदैँ देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, भेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गरे।

साहित्यकार रोचक घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामो समयदेखि समृद्धिको पक्षमा काम गरेकोमा प्रशंसा गरे।

सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन, रुचीबारे आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाए।

१४ वर्षको उमेरमा शेर्पाले पहिलो पटक सगरमाथा आरोहण यात्रा थाल्दा व्यवस्थापन टोलीसहित पत्रकार बस्नेत आफै सगरमाथा आधार शिविरतर्फ पुगेको र त्यस क्रममा बस्नेतलाई आफूले भेटेको शेर्पाले सुनाए।

अध्यक्ष बस्नेतले पत्रकारिताकै क्रममा स्थलगत सगरमाथा आधार शिविर क्षेत्र, अन्नपूर्ण, लाङटाङसहितमा पटक पटक पुगेको, जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेको असरबारे निरन्तर खोजी गरेको विषय अनुकरणीय भएको आरोही शेर्पाले सुनाए।

संघका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगाउन पत्रकारिताको ध्यान जानुपर्ने स्पष्ट पारे।

बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, ठाकुर वेल्वासे, नरेन्द्र श्रेष्ठ, विमल भौकाजीसहितले विषयवस्तुमाथि प्रकाश पारे।