‘लोकतान्त्रिक गणतन्त्रका लागि निष्पक्ष र निर्भिक पत्रकारिता’

वरिष्ठ पत्रकार चन्देश्वर गिरी, शंकर श्रेष्ठ, विएम खनाल तथा अशोक रौनियारलाई दोसल्लासहित सम्मान

जनसम्मत
चैत्र ३०, २०८०, शुक्रबार

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष तथा निर्भिक पत्रकारिताले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने बताएका छन्।

नेपाल पत्रकार महासंघ धनुषाको १३ औँ साधारण सभाको शुक्रबार जनकपुरधाममा उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्।

पत्रकारिता जगतले सधैँ निष्पक्ष भएर जनता तथा देशको पक्षमा काम गर्न आवश्यक भएको उनले औंल्याए।

उनले पत्रकारिताको नाउँमा केही व्यक्तिले गलत काम गर्ने गरेको उल्लेख गरे।

पत्रकारिता जगतलाई नै दूषित बनाउने व्यक्तिप्रति पत्रकार जगत सचेत र सजग रहन आवश्यक भएको उनले औंल्याए।

सभामुख मण्डलले केही पत्रकारहरूले कर्पोरेटको इशारामा काम गर्ने गरेको बताए।

स्वार्थ सिद्ध नभएपछि गलत समाचार दिएर राम्रो व्यक्तिको चरित्र हत्या गर्ने काम हुने गरेको उनको भनाई थियो।

उनले सामाजिक सञ्जाल व्यक्तिको अभिव्यक्ति गर्ने सशक्त माध्यम बनेको स्पष्ट पारे।

यसले पत्रकारिता क्षेत्रमा अनेक चुनौती थप्ने गरेकाले पत्रकारहरूले अझै जिम्मेवारीका साथ कलम चलाउन आवश्यक भएको उनको भनाई थियो।

मधेश प्रदेशका प्रदेश सभाका सदस्य रामआशिष यादवले मुलुकमा सुशासन तथा जिम्मेवार शासनका लागि निष्पक्ष तथा तटस्थ पत्रकारिता आवश्यक भएको स्पष्ट पारे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले नेपाल पत्रकार महासंघले निष्पक्ष रुपमा अहिलेकै सदस्यहरूको सहभागितामा ७७ वटै जिल्लामा साधारण सभा गराएर अब आउने नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न चाहेको उल्लेख गरे।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारहरूको कारणले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताइन्।

आफूहरूलाई काम गर्दा पत्रकारिता जगतले नै जिम्मेवार बनाउने गरेको उनको भनाई थियो।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय रिंकु गायत्री मिश्र, केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, मधेश प्रदेशका आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, पूर्व अध्यक्ष उमेश साह, अनिल मिश्र, पूर्व केन्द्रीय सदस्य हिमांशु चौधरीसहितका वक्ताहरूले पत्रकारिता जगतले भोग्नुपरेका समस्याबारे प्रकाश पारे।

सोही अवसरमा नेपाल पत्रकार महासंघ धनुषाले लामो समयसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका वरिष्ठ पत्रकार चन्देश्वर गिरी, शंकर श्रेष्ठ, विएम खनाल तथा अशोक रौनियारलाई दोसल्लासहित सम्मान गरेको छ।

यसैबीच, महासंघको बन्द शत्रमा महासंघका सचिव बटुकनाथ झाले पेश गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजकमल सिंहले पेश गरेको आर्थिक प्रतिवेदनमा व्यापक छलफल र सुझावसहित पारित गरेको छ।