‘सार्वजनिक प्रसारण विधेयक छिट्टै पारित हुन्छ’

लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाइनेछ

जनसम्मत
चैत्र ३०, २०८०, शुक्रबार

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारण विधेयकसहित आमसंचारसँग सम्बन्धित विधेयकहरू संसदबाट छिट्टै पारित हुने बताएकी छन्।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको १२ औँ अधिवेशन समारोहमा मन्त्री शर्माले संचार क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन आमसंचार क्षेत्रसँग सम्बन्धित कानून समयानुकूल बनाउन लागिएको उल्लेख गरिन्।

उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउँदै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन्।

मन्त्री शर्माले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिलसम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौं। मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ। र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ।’

संचारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउने समेत स्पष्ट पारिन्।

उनले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको औंल्याइन्।

विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा सरकार जुटेको उनको भनाई छ।

‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ। तर, विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ। ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौं। विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन वोर्डको बीचमा भन्दा विज्ञापन वोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौं’, मन्त्री शर्माको भनाई छ।

स्वरोजगार तथा साना लगानीका संचार माध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको औंल्याइन्।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन्।

मन्त्री शर्माले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने विषयमा पनि सरकार छलफलमा रहेको बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारलाई सुझाव दिए।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै विभिन्न पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

महासंघले शाखाका पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ।

रेडियो नेपालमा कार्यरत संवाददाता यशोदा अधिकारीलाई शोभा शाह स्मृति पुरस्कारबाट सम्मानित गरेको छ।