गण्डकी प्रदेश अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो

६१ स्वर्णसहित आयोजक बागमती प्रदेश च्याम्पियन

जनसम्मत
वैशाख २, २०८१, आइतबार

बागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको छ।

नौ खेल विधामा प्रतिस्पर्धा भएको खेलमा १२२ स्वर्णसहितको प्रतियोगितामा पदक तालिकामा आयोजक बागमति, सूदूरपश्चिम र कोशीसँग पछि पर्दै गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको हो।

गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी ४९ पदक प्राप्त गरेको छ।

प्रथम संस्करणको सम्पन्न अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा ६१ स्वर्णसहित बागमती प्रदेश च्याम्पियन बनेको छ।

प्रतियोगितामा बागमती प्रदेशले ६१ स्वर्णसहित, ४३ रजत र ३६ कास्य गरी १ सय ४० वटा पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो।

त्यस्तै, २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी कूल ७१ पदक जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो बनेको छ।

त्यसैगरी, १६ स्वर्णसहित २३ रजत र ३६ कास्य गरि कूल ७५ पदक जित्दै कोशी प्रदेश तेस्रो भएको छ।

यस्तै, ११ स्वर्णसहित १६ रजत र २८ कास्य गरी कूल ५५ पदक जित्दै लुम्बिनी प्रदेश पदक तालिकाको पाँचौँ स्थानमा छ।

यसैगरी, ११ वटा स्वर्णसहित १० रजत र २४ कास्य गरी कूल ४५ पदक जित्दै कर्णाली प्रदेश पदक तालिकाको छैटौं स्थानमा छ।

यस्तै, ३ स्वर्णसहित ३ रजत र १५ कास्य गरी कूल २१ पदक प्राप्त गरेको मधेश प्रदेश तालिकाको अन्तिम स्थानमा छ।

वागमति प्रदेशले आयोजना गरेको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हेटौंडामा सम्पन्न भएको हो।

चितवनको भरतपुर महानगरपालिकाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न भएको हो।

प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुुदूरपश्चिम प्रदेशले स्वर्ण जित्दा कोशी प्रदेशले रजत पदकमा चित्त बुझायो।

पुरुष क्रिकेटमा गण्डकी प्रदेशले स्वर्ण जित्दा मधेश प्रदेशले रजत पदकमा चित्त बुझायो।

महिला भलिबलमा बागमतीले स्वर्ण पदक जित्दा गण्डकी प्रदेशले रजत पदकमा चित्त बुझायो।

यस्तै,, पुरुष भलिबलमा गण्डकी प्रदेशले स्वर्ण जित्दा कोशीले रजत पदक जित्यो। सुदूरपश्चिमले कास्य पदकमा चित्त बुझायो।