आइसीसी विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो

दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो

जनसम्मत
जेठ २४, २०७६, शुक्रबार

पोखरा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ ।

योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।

भारतका लागि रोहित शर्माले शतक प्रहार गरे । रोहितले नटआउट रहँदै १ सय २२ रनको योगदान दिए । १ सय ४४ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रन बनाए । केएल राहुलले २६ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले समान १/१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

१५८ रन बनाउँदा सात विकेट गुमाएको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कागिसो रबाडाको ६६ रनको साझेदारीले माथि उठाएको हो । क्रिस मोरिसले सर्वाधिक ४२ रन बनाउँदा रबाडा ३१ रनमा नट आउट रहे । कप्तान फाफ डु प्लेसिस ४२ रनमा आउट हुँदा फेलुकवायोले ३८ रन जोडेका थिए ।

बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान २/२ विकेट लिए ।