एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात

मलेसियालाई ५ विकेटले हरायो

जनसम्मत
चैत्र ३०, २०८०, शुक्रबार

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ।

आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो।

मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो।

नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जोराले नट आउट १२ रन बनाए।

बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए।

यसअघि, ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो।

मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ।

भोलिदेखि सुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ।

यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।

यस्तै, समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।

समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।